गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्, जसको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा रु ८ अर्ब ८४ करोड मूल्यका वस्तु मात्र निर्यात भएका थिए। यस अवधिमा प्रमुख निर्यात वस्तुहरूमा भटमासको प्रशोधित तेल, जुस, सूर्यमुखीको प्रशोधित तेल, कपडा र सेन्थेटिक यार्न रहेका छन्। तीन महिनाको अवधिमा मात्र रु १३ अर्ब ९८ करोड मूल्य बराबरका छ करोड ७१ लाख लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ भने रु दुई अर्ब सात करोड मूल्यका दुई करोड १२ लाख लिटर जुस निर्यात भएका छन्। त्यस्तै, तीन करोड ६८ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल रु एक अर्ब ७० करोड मूल्यमा, दुई करोड ४९ लाख थान कपडा रु ९७ करोड मूल्यमा र सेन्थेटिक यार्न रु ६६ करोड मूल्य बराबर निर्यात भएका छन्। यी तथ्यांकले वीरगञ्ज नाकाबाट निर्यातमा गत वर्षको तुलनामा करिब तीन गुणा वृद्धि भएको संकेत गर्छ।

तपाईको प्रतिक्रिया