पोखरामा अत्याधुनिक फाइभ–डी (५डी) अल्ट्रासाउन्ड सेवा सञ्चालनमा आएको छ। गण्डकी प्रदेशमै पहिलो पटक सुरु गरिएको यो प्रविधि सहितको सेवा पोखराको न्यूरोडस्थित एक क्लिनिकले सञ्चालनमा ल्याएको हो। क्लिनिकले पोखरा र आसपासका बासिन्दालाई आधुनिक प्रविधिमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मातृ–शिशु स्वास्थ्य सुदृढीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
संचालक तथा रेडियोलोजिस्ट डा. सागर खड्काका अनुसार क्लिनिकमा दक्ष स्वास्थ्यकर्मी, अत्याधुनिक उपकरण र वैज्ञानिक दृष्टिकोणसहित सुलभ, सुरक्षित र विश्वसनीय सेवा सुनिश्चित गरिएको छ। फाइभ–डी अल्ट्रासाउन्ड प्रविधिबाट गर्भवती महिलाले १८ देखि २२ हप्ताको अवधिमा शिशुको अवस्था स्पष्ट रूपमा अवलोकन गर्न सक्ने सुविधा पाउनेछन्। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमार्फत शरीरमा रहेका विभिन्न रोगहरूको पहिचान गर्न सकिने र शिशुको हुबहु रंगीन तस्बिर पनि देख्न सकिने सुविधा उपलब्ध हुनेछ।
यो प्रविधियुक्त सेवा सञ्चालनमा आएसँगै पोखरासहित गण्डकी प्रदेशभरको मातृ–शिशु स्वास्थ्यमा थप सुधार आउने विश्वास गरिएको छ।

Online Arthik









