चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा जर्मन विकास बैंक (KfW)को करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा चन्द्रागिरि–४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालबारे विस्तृत छलफल गरिएको थियो। नगरप्रमुख गिरीले अस्पताल निर्माणका लागि आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सो प्रयास जारी रहने बताए। थानकोटमा बन्ने २५ शैथ्याको अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा निर्माण हुने भएको छ।
केएफडब्लूले अस्पतालका लागि प्रारम्भिक खाका स्वीकृत गरिसकेको र परियोजना **‘ग्लोबल टेण्डर’**को चरणमा पुगेको जनाइएको छ। यस अस्पतालका लागि मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा थानकोटस्थित प्राथमिक अस्पताल परिसरभित्र नगरपालिकालाई स्वीकृत गरिसकेको छ।नगरपालिकाको सहकार्यमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले संयुक्त रूपमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेका छन्। गत जेठमा केएफडब्लूको केन्द्रीय कार्यालयबाट मिसेल स्वीपर र प्राडा योर्क नेतृत्वको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन गरी ‘ग्लोबल टेण्डर’ प्रक्रियाका लागि आवश्यक प्रतिवेदन तयार पारेको थियो।

Online Arthik









