कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। इच्छुक लगानीकर्ताहरूले आज कारोबार समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गरेको हो।
जारी गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि, र १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्याइएको थियो। ती समूहका लागि बिक्री प्रक्रिया सम्पन्न भइसकेको छ। बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि, र बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आवेदन नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा, साथै मेरो सेयर वेब पोर्टल र मोबाइल एपमार्फत पनि दिन सक्नेछन्।
एसवाई प्यानल नेपाल लिमिटेड निर्माण सामग्री उत्पादनमा संलग्न कम्पनी हो, जसले देशभित्र गुणस्तरीय प्यानल उत्पादन, रोजगारी सिर्जना र औद्योगिक आत्मनिर्भरता बढाउने लक्ष्य राखेको छ। कम्पनीले आईपीओबाट संकलित पुँजीलाई उत्पादन क्षमता विस्तार, प्रविधि सुधार र सञ्चालन दक्षता वृद्धिमा प्रयोग गर्ने जनाएको छ।

Online Arthik









