नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। नेपाली क्रिकेटका स्तम्भका रूपमा चिनिने शरदले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनलाई बिदा दिएका हुन्।

हङकङ सिक्सेसमा नेपालका कप्तानको भूमिकामा रहेका शरदले आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएपछि टोलीको यात्रा समाप्त भएको थियो। यही खेल उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बनेको हो।

शरदले सन् २००२ मा यूएईमा आयोजित यू–१५ एसिया कपबाट आफ्नो क्रिकेट यात्राको सुरुआत गरेका थिए। त्यसपछि उनले लामो समयसम्म नेपालको राष्ट्रिय टोलीमा योगदान पुर्‍याउँदै देशको क्रिकेट उचाइमा पु-याउने महत्वपूर्ण भूमिका खेले। नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) स्तरमा पुग्ने यात्रामा शरद एक अविभाज्य सदस्य रहेका छन्। उनले नेपालको क्रिकेट इतिहासमा धेरै ऐतिहासिक क्षणहरूमा सहभागिता जनाएका छन्।

शरद नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका पनि सदस्य हुन्।उनको योगदानलाई नेपाली क्रिकेटका प्रशंसक र खेलकुद समुदायले दीर्घकालीन स्मरण गर्नेछन्।

तपाईको प्रतिक्रिया