लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना लामो समयदेखिका “निरन्तर सहयात्री” तथा विश्व कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ।
शेर्पाले ३१ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै बैंकको लोगो अंकित ब्यानर उच्च शिखरमा पु¥याएको उपलक्ष्यमा आज बैंकले विशेष सम्मान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्मानपत्र प्रदान गर्नुभयो। स्थापनाकालदेखि नै बैंकसँग जोडिएका शेर्पा विगत दुई दशकदेखि “निरन्तर सहयात्री”का रूपमा आबद्ध हुनुहुन्छ।
सम्मान ग्रहण गर्दै शेर्पाले यो कीर्तिमानी आरोहण आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई परिवार, शेर्पा समाज र सम्पूर्ण नेपालको गौरव भएको बताउनुभयो। “यो सफलताले लुम्बिनी विकास बैंकसहित समग्र देशलाई गौरवान्वित बनाएको छ,” उहाँले भन्नुभयो।
देशका सातवटै प्रदेशमा शाखा विस्तार गरेको लुम्बिनी विकास बैंक लिमिटेडसँग हाल ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालनमा छन्। “निरन्तर सहयात्रा” नारासहित बैंकले उच्चस्तरीय, आधुनिक तथा नवीनतम प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Online Arthik









