मन्त्रालयले सो निर्देशिकाको पुनरावलोकन तथा खारेजीका लागि अध्ययन समिति गठन गरेको छ, जसको संयोजक मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्री पिताम्बर घिमिरे रहनुभएको छ। समितिले दिने सुझावका आधारमा आगामी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
स्मरणीय छ, नेपाल सरकारले सन् २०६६ मा जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका जारी गरेको थियो। सोही आधारमा Japan International Training Cooperation Organization (JITCO) मार्फत नेपाली श्रमिक पठाउने कार्य हुँदै आएको थियो। तर जापान सरकारले सन् २०१७ मा जिट्को प्रणाली खारेज गरी त्यसको सट्टामा Technical Intern Training Program (TITP) सञ्चालनमा ल्याएको थियो। हाल जापानले उक्त TITP समेत खारेज गरी Employment for Skill Development (ESD) नामक नयाँ कार्यक्रम सन् २०२७ देखि लागू गर्ने तयारी गरेको छ।
नेपालमा भने अझै पनि जिट्को अन्तर्गत TITP मार्फत नै कामदार पठाउने कार्य भइरहेको छ। म्यानपावर व्यवसायीहरूले पटक–पटक सो निर्देशिका खारेज गर्न माग गर्दै आएका थिए।
श्रम मन्त्रालयका एक अधिकारीका अनुसार, निर्देशिका खारेज प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। उहाँका अनुसार, “हाल अध्ययनका लागि समिति गठन गरिएको छ। अन्ततः यो निर्देशिका खारेज गरिनेछ र त्यसपछिको कार्यवाही समितिको सुझावका आधारमा अघि बढाइनेछ।”
मन्त्रालयले जापानसँग नयाँ प्रणाली Employment for Skill Development (ESD) अन्तर्गत कामदार पठाउने नीतिगत तयारीका लागि आवश्यक अध्ययन तथा परामर्श अघि बढाएको जनाएको छ।

Online Arthik









