समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले वृद्धि भएको छ। २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १५.० प्रतिशत कर्जा रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत कर्जा रहेको छ। यो अंश २०८१ असोज मसान्तमा क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थियो। आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमध्ये निर्माण क्षेत्रको कर्जा २.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको कर्जा २.४ प्रतिशत, उपभोग्य क्षेत्रको कर्जा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा १.४ प्रतिशतले बढेको छ, जबकि सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ। यस अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा सहित) ३.२ प्रतिशत, मार्जिन प्रकृतिका कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत तथा हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेका छन् भने ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेका छन्।

Online Arthik









