ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणलाई लक्षित गरी प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा औपचारिक रूपमा नियुक्त गरेको कुरा जानकारी गराउँछ।
उक्त नियुक्तिसम्बन्धी सम्झौता मिति २०८२ मंसिर १ गते, सोमबार सम्पन्न भएको हो। सम्झौतापत्रमा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष श्री युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ।
कम्पनीले आफ्नो जारी पुँजीको ३०% साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ।
ग्रीनेदी इनर्जी लिमिटेडले कास्की जिल्लामा अवस्थित ईदी खोलामा निर्माण गरिएको इदी खोला जलविद्युत आयोजना सफलतापूर्वक सम्पन्न गरी २०७९ बैशाख ८ (२०८२/०१/०८ अनुसार) देखि व्यावसायिक उत्पादन संचालन गरिरहेको छ।
आयोजनामा बैंकिङ, जलविद्युत, बीमा तथा पुँजी बजार क्षेत्रमा विशेष अनुभव र दक्षता राख्ने व्यक्तिहरूको सहभागिता रहेको छ। साथै आयोजना क्यु–६५ हाईड्रोलोजिकल डिजाइन संरचनाका आधारमा निर्माण गरिएको हो, जसले दीर्घकालीन उत्पादन स्थायित्वमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आगामी दिनहरूमा कम्पनीले अतिरिक्त जलविद्युत आयोजना बाहेक सौर्य तथा हरित ऊर्जा क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ।
कम्पनीका अध्यक्ष श्री युरेश मान कायस्थका अनुसार—
“हामी दिगो ऊर्जा विकासमा अग्रसर रहँदै, आगामी वर्षहरूमा अक्षय ऊर्जाका विभिन्न परियोजनामा रणनीतिक रूपमा लगानी विस्तार गर्ने लक्ष्य राखेका छौँ।”

Online Arthik









