नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा आधुनिक टुजी र फोरजी सेवा विस्तार गर्दै सञ्चार पहुँचलाई थप सुदृढ बनाएको छ। देशभरका दुर्गम बस्तीहरूमा गुणस्तरीय मोबाइल सेवा पुर्‍याउने अभियानअन्तर्गत टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न गाउँबस्तीहरूमा नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो।

हुम्ला जिल्लाको सर्केगाड–३ र सर्केगाड–६ मा सेवा विस्तार भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ का बासिन्दा पहिलोपटक भरपर्दो मोबाइल नेटवर्कबाट लाभान्वित भएका छन्। यसबाट उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउलगायतका बस्तीहरू सञ्चार सुविधामा समेटिएका छन्। त्यस्तै, अदानचुली–६ मा पनि टुजी र फोरजी सेवा सञ्चालनमा आएसँगै अदानचुली गाउँपालिकाका पानचौर, कालिका लगायतका क्षेत्र आधुनिक मोबाइल सेवामा जोडिएका छन्।

दैलेखको गुराँस गाउँपालिका क्षेत्रका गुराँस बजार, गोगनपानी, पातीकान्ला, बयलकाँडा तथा बराहताल–९ को लेकगाउँ फोरजी सेवाको दायरामा आएपछि स्थानीय बासिन्दासँगै पर्यटकहरूले पनि गुणस्तरीय नेटवर्क सुविधा उपयोग गर्न पाउने भएका छन्। जाजरकोटको जुनीचाँदे गाउँपालिकास्थित कोत्राङ्गमा सेवा सुरु भएपछि वडा नं. ७, ८, ९, १० र ११ का बस्तीहरू आधुनिक सञ्चार सुविधासँग पहिलोपटक जोडिएका छन्।

डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा समेत टेलिकमले सेवाको दायरा विस्तार गरेको छ। वडा नं. १० को मिदग्ती लेकमा फोरजी टावर सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी लगायतका बस्तीहरूको पहुँच अझै सुदृढ भएको छ। यसले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय र सैनिक ब्यारेक क्षेत्रलाई समेत आधुनिक मोबाइल सेवासँग जोडेको टेलिकमले जानकारी दिएको छ।

नवीनतम सेवा विस्तारसँगै टेलिकमले देशका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा फोरजी सेवा पुर्याइसकेको छ। सरकारको नीतिअनुसार दुर्गम तथा कम प्रतिफल हुने क्षेत्रलाई पनि समान प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको कम्पनीले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया