एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनका सम्बन्धमा प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ। मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २९ गते भक्तपुरको कौशलटार स्थित त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १०:०० बजेबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
साधारण सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दै, आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ। त्यस्तै, कम्पनीको गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पनि सभामा अनुमोदन गरिनेछ।
एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। कम्पनीले ३ करोड ९० लाख रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरका ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना अघि सारेको छ।
यसअघि, केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई (डबल बी माइनस, इक्विटी) रेटिङ प्रदान गरेको छ।

Online Arthik









