भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा राजस्व सङ्कलन लक्ष्य कटाएर उल्लेखनीय सफलता हात पारेको छ। कार्यालयले साउनदेखि कात्तिकसम्मको अवधिमा लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व उठाएको छ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार चारै महिनामा राजस्व सङ्कलन लक्ष्य शतप्रतिशत प्राप्त भएको छ। विभागबाट तोकिएको ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँको लक्ष्य विरुद्ध कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको हो। यो रकम लक्ष्यको १२७.३ प्रतिशत हो, भने यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.५ प्रतिशत वृद्धि भएको पोख्रेलले जानकारी दिए।

उनका अनुसार कुल राजस्व सङ्कलनमा अन्तःशुल्कको योगदान ८२.६ प्रतिशत छ, भने मूल्य अभिवृद्धि कर (VAT) र आयकर लगायतका अन्य राजस्व शीर्षकमा पनि सन्तोषजनक असुली भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा यही अवधिमा कार्यालयले ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ मात्रै सङ्कलन गरेको थियो। यस वर्षको सफलताबारे पोख्रेल भन्छन् —
“उद्योगी–व्यवसायी र कर प्रशासन दुवै पक्षको प्रभावकारी ‘टिमवर्क’ बाट उत्कृष्ट कार्यसम्पादन सम्भव भयो।”

भैरहवा आन्तरिक राजस्व कार्यालय अन्तर्गत ६४ हजारभन्दा बढी करदाता दर्ता रहेका छन्।

तपाईको प्रतिक्रिया