नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ताले हुन आउने २१ करोड ६ लाखरुपैयाँको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथै बुक बिल्डिङ्ग विधिमार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ।
यस कम्पनी कोष व्यवस्थापक रही पुँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएको छ।
क्रेडिट रेटिङ्ग संस्थाद्वारा केयर एनपि त्रिपल बि इस्युआर रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७ प्रतिशत लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एनआरएनहरुको लगानी रही विगत ३ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ।

Online Arthik









