जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदैछ। जन्तीका रूपमा आएका साधु–सन्तलाई ५६ प्रकारका व्यञ्जन र मिष्ठान्न खुवाएर बिदाइ गर्ने परम्पराअनुसार आजको मुख्य विधि सम्पन्न हुँदैछ। मंगलबार सम्पन्न राम–सीताको वैवाहिक समारोहपछि रातभर जानकी मन्दिर परिसरमा विवाहका काज–क्रम चलेका थिए। आज बालबालिकालाई प्रतिकात्मक रूपमा राम, लक्ष्मण, भरत र शत्रुध्न बनाइएका पात्रसँगै साधु–सन्तलाई दान–दक्षिणासहित बिदाइ गरेपछि महोत्सव विधिवत रूपमा समापन हुनेछ। मंसिर ४ गतेदेखि सुरु महोत्सवमा नगरदर्शन, फूलबारी लीला, धनुषा यज्ञ, तिलकोत्सव, मटकोर र विवाहपञ्चमीजस्ता कार्यक्रम सम्पन्न भएका थिए। त्रेतायुगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा भगवान राम र सीताको विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष भव्यताका साथ विवाहपञ्चमी महोत्सव मनाइने परम्परा छ।

तपाईको प्रतिक्रिया