बन्दीपुरमा सात महिनाको अवधिमा २१ हजार ७२५ विदेशी पर्यटक पुगेका छन्। गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म यो संख्या दर्ता भएको हो। ‘पहाडकी रानी’का रूपमा परिचित बन्दीपुरप्रति पछिल्लो समय विदेशी पर्यटकको आकर्षण तीव्र रूपमा बढेको अस्थायी पर्यटक प्रहरी पोस्टका प्रमुख, प्रहरी सहायक निरीक्षक गोविन्द रानाले बताए। उनका अनुसार सात महिनामा मात्रै ५ हजार ५१ चिनियाँ नागरिकले बन्दीपुर भ्रमण गरे — यो संख्या सबैभन्दा ठूलो हो। यसको पछि भियतनाम, भारत र स्पेनका पर्यटकको संख्या रहेको छ। चिनियाँ पर्यटक प्रायः घुमफिरका लागि आउने तर बास बस्नका लागि पोखरा वा चितवन जाने गरेको उनले जानकारी दिए। सात महिनाको पर्यटक आगमनमा वैशाखमा ३,२९७, जेठमा ३,३४२, असारमा २,७६६, साउनमा २,०७५, भदौमा १,८३२, असोजमा ३,७८६ र कात्तिकमा ४,६२७ विदेशी पर्यटक आएका थिए। त्यस्तै, आन्तरिक पर्यटकको संख्या पनि ३२ हजार ७६० पुगेको छ, जसमा कात्तिक महिनामा मात्र १७ हजार ५८ आन्तरिक पर्यटक आएका छन्। कात्तिक–मंसिरमा कलेज तथा विद्यालयका विद्यार्थीको भ्रमण बढ्ने भएकाले संख्या एकाएक बढेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा बन्दीपुरमा १२ हजार ९३९ विदेशी पर्यटक आएका थिए। बन्दीपुर पर्यटन वर्ष २०२५ का लागि पर्यटक आगमन थप बढाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। उनका अनुसार चार घरबास र ७० होटलमध्ये अधिकांश अहिले भरिभराउ छन्, जसले व्यापारीहरूमा उत्साह थपेको छ।

तपाईको प्रतिक्रिया