आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इच्छुक दलहरूको संख्या १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दर्ता गरिएका दलहरूको संख्या १०८ पुगेको हो। आयोगले दल दर्ताको समय आइतबारसम्म थपेकाले यसबीचमा अझै केही दल थपिन सक्ने अनुमान गरिएको छ। हाल आयोगमा दर्ता प्रक्रियामा रहेका १६ दलले अधिकार प्राप्त गरेमा उनीहरू पनि निर्वाचन प्रयोजनका लागि दर्ता हुन सक्नेछन्।
२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा ८४ दलले मात्र सहभागिता जनाएका थिए, तर यसपटक संख्या उल्लेख्य रूपमा बढेर १०८ पुगेको छ। निर्वाचन आयोगमा दर्ता भएका दलहरूको कुल संख्या १३९ पुगेको छ। बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्। त्यसअघि बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए।
जेनजी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलहरूको संख्या २३ पुगेको आयोगले जनाएको छ।

Online Arthik










