नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको छ। ३५ दिन अवधिका लागि हुने यो निक्षेप संकलनका लागि आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल (bidding) प्रस्तुत गर्न सकिने व्यवस्था मिलाइएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ, भने अधिकतम सीमा पाँच करोडले भाग जाने निस्शेष भाग बराबर रहने गरी कुल आह्वान रकमसम्म रहने छ।
यस निक्षेप संकलनको सावाँ तथा ब्याज भुक्तानी पुस १० गते तोकिएको छ, र ब्याज दर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाटै निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल ब्याजदरमै प्रस्ताव गर्नुपर्नेछ, साथै इच्छुक संस्थाले बहुब्याजदरमा बहुबोलकबोल गर्न सक्ने सुविधा पनि हुनेछ।
यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले समय–समयमा यस्तो प्रकारका निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ, र यस पटकको ४० अर्ब संकलनले बजारमा देखिएको अतिरिक्त तरलता सोस्ने उद्देश्य राखेको छ।

Online Arthik









