राजधानीमा सञ्चालन हुने चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ। केही समयदेखि निर्माण तथा मर्मतसम्भारका कारण रोकिएको यो सेवा अब नियमित रूपमा सञ्चालनमा आउँदैछ। केबलकार सञ्चालक समिति सचिव झलक शर्माका अनुसार सोमबार बिहान ८ बजेदेखि यात्रुहरूका लागि सेवा उपलब्ध हुनेछ भने भाडा पहिले जस्तै ८२५ रुपैयाँ कायम रहेको छ।
विद्यार्थीहरूका लागि २५ प्रतिशत छुटको व्यवस्था यथावत राखिएको छ भने मंसिर १५ गते एक दिनका लागि पनि टिकटमा २५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ। हालका लागि अन्य कुनै नयाँ छुट वा अफरहरू लागू छैनन्।
केबलकार सेवा गत भदौ २४ गते तोडफोड भएपछि बन्द भएको थियो र कात्तिक २२–२३ गते पुर्ननिर्माणपछि सञ्चालनमा आएको थियो। सचिव शर्माले भनेका छन् कि प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको थियो, जसका लागि अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाएर मर्मत गरिएका छन्। अब सेवा नियमित सञ्चालनका लागि कुनै प्राविधिक समस्या नरहेको जानकारी दिइएको छ।

Online Arthik









