भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन इच्छुक फर्म, कम्पनी तथा संस्थाहरूका लागि आवेदन म्याद मंसिर २७ गतेसम्म थप गरेको जनाएको छ। यसअघि असोज १३ गते सूचना प्रकाशित गरी आवेदन आव्हान गरिएको भए पनि न्यून आवेदन प्राप्त भएको कारण विभागले गत शुक्रबारदेखि लागू हुने गरी म्याद थप गरेको हो। मालपोत ऐन, २०३४ अनुसार घर–जग्गा कारोबार गर्ने कम्पनीले सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार इजाजत लिनुपर्ने व्यवस्था रहँदै आएको छ, जसअनुसार विभागले पहिलो चरणमा महानगरपालिका तथा उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको छ। एकै पटकमा रु ३ करोडभन्दा बढीको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ, जसले घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने उद्देश्य पूरा गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा ६ महानगर र ११ उपमहानगरपालिकामा व्यवस्थित कारोबारको प्रक्रिया अघि बढाइएकाे विभागको भनाइ छ। साथै, विभागका अनुसार गत कात्तिक महिनामा घर–जग्गा कारोबारबाट रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ राजस्व, रु २१ करोड ३४ लाख ४७ हजार ४१३ सेवा कर, रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रजिष्ट्रेसन शुल्क, तथा रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ पूँजीगत लाभकर संकलन भएको छ।

Online Arthik









