पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार रुपैयाँ बराबरको मालवस्तु आयात र ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात गरिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्। गत वर्षको सोही अवधिको तुलनामा आयात १२.१२ प्रतिशतले बढेको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ। चार महिनाको अवधिमा आयात–निर्यातबाट ५ अर्ब ४६ करोड एक लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ, जसमा आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ। राजस्व असुलीमा गत वर्षको तुलनामा १५.६६ प्रतिशत, अर्थात् ७३ करोड ९४ लाख ७५ हजार रुपैयाँ वृद्धि भएको छ। यस अवधिमा अलैँची, भेनियर सिट, कुकुर र बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली तथा मसुरो दाल प्रमुख वृद्धि भएका निर्यात वस्तु बनेका छन्, जसमा अलैँची निर्यात १०९.२ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ पुगेको छ। भेनियर सिट निर्यातमा १३५.८ प्रतिशत वृद्धि, कुकुर–बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि तथा मसुरो दाल निर्यातमा ४८१ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। यता, चिया निर्यात ३७ प्रतिशत, प्लाइउड निर्यात ५२.७ प्रतिशत, अम्रिसो निर्यात २३.९ प्रतिशत तथा फलामे पाता निर्यात ९७.३ प्रतिशतले घटेको कार्यालयको तथ्यांकले जनाउँछ।

Online Arthik









