नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले गण्डकी प्रदेशको उत्तरी सिमाना मुस्ताङस्थित कोरला नाका सञ्चालनमा आएका कारण प्रदेशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मंसिर १७ देखि २१ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिएको नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके अर्थतन्त्र थप बलियो हुने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालका अनुसार नाका खुलेपछि गण्डकी प्रदेशमा उत्पादन हुने वस्तुहरू चीनको तिब्बतमा निर्यात गर्न सकिने हुँदा व्यापारिक अवसर विस्तार हुने छ। उनले “नेपालमा केही हुँदैन” भन्ने नकारात्मक धारणा चिरेर, नेपालकै पुँजी र क्षमताले पनि ठूला परियोजना सञ्चालन गर्न सकिने कुरा जोड दिए।
कार्यक्रमका प्रमुख सहभागीहरूले पनि आर्थिक सुधारका लागि सकारात्मक दृष्टिकोण प्रस्तुत गरे। महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र उद्योग व्यवसाय फस्टाउने बताए। त्यस्तै, आयोजक सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एक क्षेत्र कमजोर हुँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने उल्लेख गर्दै, नीतिगत तथा कानुनी सुधारमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष कार्कीका अनुसार जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा परेको नकारात्मक प्रभावपछि व्यावसायिक वातावरणलाई पुनः स्थिर बनाउँदै, उद्योग–व्यवसायीको मनोबल बढाउने र नयाँ लगानी सम्भावनाको पहिचान गर्नुलाई नै मेलाको मुख्य उद्देश्य बनाइएको छ।

Online Arthik










