अरुण गाउँपालिका–६ लेगुवाघाटमा कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी दीर्घ समयदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग बन्द गरिएको छ। जिल्ला अनुगमन समितिको स्थलगत अनुगमनपछि प्राकृतिक स्रोतको अवैध दोहन हुँदै आएको पुष्टि भएपछि तत्काल उद्योग सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए।
उनका अनुसार जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगहरू निरन्तर अनुगमन भइरहेका छन् र कानूनी दायराभन्दा बाहिर रहेका उद्योगलाई रोक लगाउने काम जारी छ। अनुगमनले देखाएको तथ्यहरूले लेगुवाघाटस्थित क्रसर उद्योगले कुनै पनि अनुमति, प्रक्रिया वा मापदण्ड पूरा नगरी नदीजन्य पदार्थ—ढुङ्गा, गिट्टी, बालुवा—अनधिकृत रूपमा उत्खनन गरेको पुष्टि भएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा नगरेसम्म उद्योग सञ्चालनमा प्रतिबन्ध जारी रहने प्रमुख थुलुङको भनाइ छ।
अवैध उद्योग बन्द गरिएपछि विभिन्न व्यक्ति तथा समूहले पुनः सञ्चालनका लागि दबाब दिएको जानकारी गर्दै उनले राज्यका प्राकृतिक सम्पत्ति दोहन गर्न नपाइने स्पष्ट गरे। नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन मापदण्ड २०७७ अनुसार क्रसर उद्योग पक्की पुलबाट ५०० मिटर, सडक मार्ग तथा खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनबाट १०० मिटर दूरीमा हुनुपर्ने कानूनी व्यवस्था भए पनि उक्त उद्योगले कुनै प्रक्रिया पालना गरेको पाइएको छैन।
उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि ३०० मिटर उत्तर तथा अरुण नदी किनाराबाट ६० मिटर दूरीमा सञ्चालन भइरहेको छ। त्यस्तै बस्तीबाट ५०० मिटर टाढा हुनुपर्ने प्रावधान उल्लङ्घन गरी क्रसर लेगुवा बजार (भोजपुर) र राम बजार (धनकुटा) दुवैबाट करिब ३५० मिटर दूरीमै रहेको समितिले जनाएको छ।
मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ माघदेखि निरन्तर अवैध रूपमा सञ्चालन हुँदै आएको उक्त क्रसर उद्योग राससका अनुसार विधिवत् मापदण्ड पूरा नगरेकै कारण बन्द गरिएको हो। रासस

Online Arthik









