झापा इनर्जी लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस १८ गते झापाको बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिका सदस्यहरूको तलब तथा बैठक भत्ता सम्बन्धी प्रस्ताव छलफल गरी पारित गर्ने, साथै संगठनात्मक संरचनामा प्रमुख सल्लाहकार रहने व्यवस्था गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकद्वारा प्रस्तुत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमा छलफल गरी पारित गरिनेछ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik









