रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अतिरिक्त मर्चेन्ट बैंकिङ सेवाको अनुमति प्राप्त गरेको छ। सेबोनले कम्पनीलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिस्ट्रेसन तथा संस्थागत परामर्श सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको हो।
यसअघि कम्पनीले धितोपत्र प्रत्याभूति (Underwriting) तथा लगानी व्यवस्थापन सम्बन्धी कार्यहरू गर्दै आएको थियो। नयाँ अनुमति प्राप्त भएपछि कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रअन्तर्गत आफ्ना सेवा दायरा थप विस्तार गरेको छ। संस्थाका अनुसार, स्वीकृत सेवा विस्तारसँगै ग्राहकलाई गुणस्तरीय, पारदर्शी र दिगो वित्तीय सेवा प्रदान गर्न कम्पनी अझ सुदृढ रूपमा अघि बढ्नेछ।
यस्तै, बीमा क्षेत्रबाट सञ्चालित पहिलो सामूहिक लगानी कोष ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत ‘रिलायबल समृद्धि योजना’ नामक पहिलो इकाई योजना संचालन भइरहेको छ। यस योजनाले दीर्घकालीन लगानीकर्तालाई स्थिर प्रतिफल प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

Online Arthik










