नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स कम्पनीहरूले कानुनअनुसार आवश्यक इजाजत नलिई व्यवसाय सञ्चालन गरेको पाइएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरले आज नेपालगञ्ज क्षेत्रमा गरेको अनुगमनका क्रममा ७ वटा टुर्स एण्ड ट्राभल्स पूर्ण रूपमा इजाजतबिना सञ्चालनमा रहेको तथ्य बाहिर आएको हो। कोहलपुरको टोलीले नेपालगञ्जका १५ वटा टुर्स एण्ड ट्राभल्समा अनुगमन गर्दा केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालिसहितका फर्मले पर्यटन कार्यालयको अनुमति नलिएको देखिएको अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए।

अनुगमन नेपालगञ्जका बीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका क्षेत्रमा गरिएको थियो। विशेषगरी पुष्पलाल चोक क्षेत्रका धेरै टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडको मात्र दर्ता प्रमाणपत्र लिएर पर्यटन कार्यालयको इजाजतबिना व्यवसाय सञ्चालन गरेको भेटिएको छ। पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख मुक्तिप्रसाद पाण्डेका अनुसार अधिकांश व्यवसायीले कानूनी प्रक्रिया पूरा नगरी संचालन गरिरहेका छन्, जसमा कम्पनी दर्ता भएपछि पान नम्बर लिने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने, र अन्त्यमा पर्यटन कार्यालयबाट अनुमति प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया अनिवार्य छ।

अनुगमनका क्रममा साइनबोर्डसमेत अनियमित रूपमा राखिएका भेटिएका छन्। होटल–होटलमा अनधिकृत रूपमा जथाभावी साइनबोर्ड राखेर ग्राहकलाई भ्रममा पार्ने गतिविधि भएको चौधरीले बताए। उद्योग ऐनअनुसार ग्राहकलाई झुक्याउने जथाभावी साइनबोर्ड राख्न नपाइने स्पष्ट छ, तर धेरै व्यवसायीले यो नियम पालना नगरेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहन घर्तीमगरले जनाए।

यसबाहेक, एयरलाइन्सहरूले इजाजत नलिएका वा अद्यावधिक नभएका टुर्स एण्ड ट्राभल्सलाई पनि टिकट पोर्टल उपलब्ध गराएको गुनासो नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले राखे। पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख पाण्डेले पहिलो चरणमा व्यवसायीलाई सचेत गराइसकिएको र दुई महिनाभित्र इजाजत तथा दर्ता प्रक्रिया पूरा नगरे कारबाही अघि बढाइने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया