मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले लाभांश समावेश नगरी १२ औं वार्षिक साधारण सभा आयोजना गर्ने मिति तय गरेको हो।कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी पुस २९ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो साढे १ बजे आयोजना गर्ने निर्णय गरेको छ।

सभामा नियामक निकायबाट हकप्रद सेयर स्वीकृत भएअनुसार सेयरपूँजी समायोजन अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।सञ्चालक समितिलाई चुक्तापूँजी र फ्रि रिजर्भभन्दा बढी कर्जा लिन अनुमति दिने तथा गत आवमा सेयरको रूपमा विभिन्न कम्पनीमा गरिएको लगानीलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।सभामा कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त तापखोला जलविद्युत आयोजना अघि बढाउन सहायक कम्पनी दर्ता गरी परियोजना विकास र निर्माणसम्बन्धी कार्य अगाडि बढाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछ।उक्त प्रस्ताव अघि बढाउन नियामक निकायबाट कुनै संशोधन, फेरबदल वा निर्देशन आएमा सोही अनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने व्यवस्था हुनेछ।

लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सम्बन्धित अन्य अनुसूचिहरू पनि छलफल गरी पारित गरिनेछ।आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछन्।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया