सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आगामी पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासी स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। साथै, जारी पुँजीको अर्को १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गतेसम्म खुला हुनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा तथा काठमाडौँ थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर वितरणपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया