चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले वार्षिक साधारण सभामा आव २०८१/८२ को प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ। साथै, कम्पनीको प्रबन्धपत्रको दफा ६ अन्तर्गत पूँजी संरचना संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्राप्त हुने निर्देशनअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

यसका अतिरिक्त, सञ्चालक समितिका सदस्यलाई प्रदान गरिने सेवा सुविधा अनुमोदन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिइएको कर्जा अनुमोदन गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गर्ने तथा आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया