पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले नवौं तथा दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गते वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यसका अतिरिक्त, कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित कुल चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik









