स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९औँ बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो। सभा आगामी पुस २५ गते शुक्रबार काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
यसका साथै, हालको जारी तथा चुक्तापुँजी बमोजिम बोनस सेयर जारी गरी संस्थाको जारी तथा चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव रहेको छ। हाल कायम रहेको संस्थापक सेयरमध्ये ९ प्रतिशत बिन्दु बराबरको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० बाट ५१ः४९ कायम गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। त्यस्तै, संस्थाले अन्य इजाजतपत्रप्राप्त “घ” वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात तथा आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान बाँडफाँड विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। साथै, सञ्चालक समितिमा नियुक्त भएका स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्तिसम्बन्धी जानकारी पनि सभामा गराइनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik









