धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डको पहलमा विश्व लगानीकर्ता सप्ताह–२०२५ देशभर मनाइँदैछ। मंसिर २५ देखि पुस २ गतेसम्म सञ्चालन हुने यस सप्ताहअन्तर्गत विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना भइरहेका छन्। यसै क्रममा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले पुस १ गते लिङ्कन कलेज, शामाखुसी, काठमाडौंमा स्नातक तहमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूका लागि वित्तीय शिक्षा अभिवृद्धिसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रममा कलेजका प्राध्यापकसहित विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत राम नारायण तिवारीले गरेका थिए। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अजय घिमिरे र राम नारायण तिवारीले दिएका थिए। विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले पूँजीबजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याएको तथा सहभागीहरूले सेयर लगानीसम्बन्धी आधारभूत ज्ञान हासिल गरी लाभान्वित भएको विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया