एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ। बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने ‘अनलाइन कर्जा ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको हो। यस सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकहरूले अब आवेदनको अवस्था बुझ्न बैंकको शाखामा धाउनुपर्ने वा पटक–पटक फोन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। डिजिटल माध्यमबाट कर्जा प्रक्रिया थप पारदर्शी, सहज र छरितो बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ प्रदान गरिनेछ, सोही नम्बर प्रयोग गरी बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा गई ‘अनलाइन कर्जा ट्र्याकिङ’ सेवा चयन गरेर वा तोकिएको लिंकमार्फत कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी लिन सकिनेछ। यस सेवाले ग्राहक अनुभव सुधार गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

तपाईको प्रतिक्रिया