चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अनुसार घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेशका मुख्य आयस्रोत हुन्।
मालपोत र सवारी कर शीर्षकबाट चालु आवमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा साउनदेखि मङ्सिरसम्म लक्ष्यको २८ दशमलव ६३ प्रतिशत अर्थात् आठ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ संकलन भएको मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले जानकारी दिए। उनका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड रुपैयाँ लक्ष्य राखिएकामा पाँच महिनामा एक अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ।
यस्तै, सवारीसाधन जाँचपास, रुट अनुमति तथा सवारीचालक अनुमतिपत्र वितरण र नवीकरणअन्तर्गत सवारी करबाट आठ अर्ब २५ करोड रुपैयाँ संकलन हुने अनुमान रहेकामा हालसम्म दुई अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ प्राप्त भएको छ। बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) बापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ अनुमान गरिएकामा तीन अर्ब छ करोड ८६ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ भने अन्तःशुल्क करबाट चार अर्ब तीन करोड ७९ लाख नौ हजार रुपैयाँ लक्ष्य राखिएकामा एक अर्ब सात करोड २३ लाख ५९ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएकामा पाँच महिनामा ३८ दशमलव ३८ प्रतिशत अर्थात् पाँच अर्ब ६८ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ। चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएकामा हालसम्म लक्ष्यको ३१ दशमलव ४४ प्रतिशत अर्थात् एक अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ।
आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्रीमा आएको कमी, साथै गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसकेको मन्त्रालयले जनाएको छ।
रासस

Online Arthik









