मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,००० बराबरको प्रति शेयर रु.१०० अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरमा आधारित १:०.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। यस अनुसार कम्पनीले रु.४५,३६,००,००० बराबरको प्रति शेयर रु.१०० अंकित दरका ४५,३६,००० कित्ता नयाँ साधारण शेयर जारी गर्नेछ। हकप्रद निष्काशनपछि कुल शेयर संख्या १,२०,९६,००० कित्ता हुनेछ। कम्पनीले यस हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पौष ३ गते, बिहीबार बसुन्धारा, काठमाडौंमा सम्पन्न कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री रामशरण तिमल्सिनाज्यू र नेपाल लाइफ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्तालाई जोड्ने संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत कम्पनी हो, जसले कृषकका लागि आवश्यक उत्पादन साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास र उपभोक्तालाई गुणस्तरीय तथा पोषिलो कृषि उत्पादन उपलब्ध गराउने व्यवसाय गर्दै आएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक संस्था नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने अनुमती प्राप्त कम्पनी हो, जसले निष्काशन तथा बिक्री प्रबन्ध, निवेश व्यवस्थापन, धितोपत्र प्रत्याभूती, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन लगायतका सेवा प्रदान गर्दछ।

तपाईको प्रतिक्रिया