हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते बसेको सञ्चालक समितिको बैठकबाट १४ औँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । सभा आगामी पुस २८ गते काठमाडौँको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, नियमनकारी निकायको निर्देशनअनुसार नियमावली संशोधन गर्न तथा अन्य लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरू पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत समेटिएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हुँदा पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया