भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि बिक्री खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुने जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर निष्कासनपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना रहेको छ ।

Online Arthik









