सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीको साधारण सभा आगामी पुस ३० गते काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्शनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आवश्यक परे थप ऋण लिनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत सभामा पारित गरिनेछ ।यसैगरी, सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित उक्त आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव समेटिएको छ । साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Online Arthik









