रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट जारी पूँजी १ अर्ब ९० लाख रुपैयाँको १०.१४ प्रतिशत बराबर हुने १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरिरहेको छ, जसको कुल मूल्य १९ करोड २६ लाख ६० हजार रुपैयाँ रहेको छ । सर्वसाधारण समूहअन्तर्गत पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो । बुक बिल्डिङ विधिबाट प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ निर्धारण भएकाले न्यूनतम ५० कित्ताका लागि आवेदन दिन ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ करिब १७ गुणा बढी आवेदन परेपछि सेयर बाँडफाँट सम्पन्न भइसकेको छ । सर्वसाधारणले आगामी शुक्रबारसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म लम्बिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

Online Arthik










