युरोपमा नयाँ कार बिक्री नोभेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा लगातार पाँचौँ महिना बढेको छ। जर्मनी, इटाली र स्पेनसहितका प्रमुख बजारमा विद्युतीय सवारीसाधन (ईभी) को दर्ता बढेकाले बिक्रीमा सहयोग पुगेको युरोपेली अटो उद्योगको छाता संगठन एसीईएले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

एसीईएका अनुसार ब्याट्री–विद्युतीय सवारी (बीईभी) को दर्ता, जसलाई बिक्रीको सूचक मानिन्छ, युरोपेली संघ (ईयू) मा २१ प्रतिशत, बेलायतमा २६ प्रतिशत र नर्वेमा ९८ प्रतिशत बजार हिस्सामा पुगेको छ। ईयूले गत साता क्षेत्रीय अटो उद्योगको दबाबपछि सन् २०३५ देखि आन्तरिक दहन इन्जिन (डिजेल–पेट्रोल) कारमाथि लागु हुने प्रभावकारी प्रतिबन्धबाट पछि हट्ने योजना सार्वजनिक गरेको थियो। यसलाई पछिल्ला वर्षहरूमा ब्लकको हरित नीतिबाट भएको ठूलो कदम फिर्ता मानिए पनि विश्लेषकहरू दीर्घकालमा ईभी नै भविष्य हुने बताउँछन्।

नोभेम्बरमा युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा कार बिक्री २.४ प्रतिशतले बढेर ११ लाख पुगेको छ। फक्सवागन र रेनोको दर्ता क्रमशः ४.१ प्रतिशत र ३ प्रतिशतले वार्षिक आधारमा बढ्यो भने स्टेलान्टिसमा तीन महिना लगातार वृद्धि भएपछि २.७ प्रतिशतले गिरावट आयो।

टेस्लाको दर्ता ११.८ प्रतिशतले घटेको छ। नर्वेमा कीर्तिमानी बिक्रीले अन्य बजारका घाटा केही हदसम्म पूर्ति गरेको एसीईएले जनाएको छ। यसका विपरीत, चिनियाँ प्रतिस्पर्धी बीवाईडीको दर्ता २२१.८ प्रतिशतले उक्लिएको छ। सो महिनामा टेस्लाको बजार हिस्सा २.१ प्रतिशत र बीवाईडीको २ प्रतिशत रहेको छ।

ईयूमा कुल कार बिक्री २.१ प्रतिशतले बढेर करिब ९ लाख पुगेको छ। ब्याट्री–विद्युतीय, हाइब्रिड–विद्युतीय र प्लग–इन हाइब्रिड कारको दर्ता क्रमशः ४४.१ प्रतिशत, ३८.४ प्रतिशत र ४.२ प्रतिशतले बढेर ब्लकको कुल दर्तामा संयुक्त रूपमा ६५.६ प्रतिशत हिस्सा ओगटेको छ, जुन अगस्ट २०२४ मा ५६ प्रतिशत थियो।

तपाईको प्रतिक्रिया