ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले १३औँ वार्षिक साधारण सभा डाकेको छ । पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आह्वान गर्ने निर्णय गरेको हो ।
साधारण सभा आगामी पुस ३० गते पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत सभामा पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Online Arthik










