सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आज डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि होटल पार्क ल्याण्ड लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।
विगत १८ वर्षदेखि आतिथ्य सेवा क्षेत्रमा क्रियाशील होटल पार्क ल्याण्ड लिमिटेड चितवन जिल्लाको सौराहामा अवस्थित छ। हाल ३२ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३२ वटा सुविधा सम्पन्न कोठाहरू सञ्चालनमा रहेका छन्। होटल सौराहा गैडाचोकबाट करिब ३५० मिटरको दूरीमा रहेको छ।
कम्पनीले आगामी दिनमा आफ्नो क्षमता विस्तार गर्ने योजना अनुरूप होटलको क्षेत्रफल बढाई ४४ कट्ठा पुर्याई १०५ कोठा निर्माण गरी ४ तारे स्तरको होटलमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। यस सार्वजनिक निष्काशनमार्फत संकलन हुने पूँजी होटल विस्तार, पूर्वाधार विकास तथा सेवाको गुणस्तर अभिवृद्धिमा उपयोग गरिने जनाएको छ।
उक्त सम्झौताले होटल पार्क ल्याण्ड लिमिटेडको पूँजी संरचना सुदृढ गर्न तथा सर्वसाधारण लगानीकर्तालाई पर्यटन तथा आतिथ्य क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

Online Arthik










