स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १७औं वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले यही माघ ३ गते शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११:३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यसैगरी, अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।सभामा अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू स्वीकृत गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया