आईपीओ निष्कासनको तयारीमा रहेको जस्मिन पेन्ट्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो।

कम्पनीको साधारण सभा आगामी माघ ४ गते चितवनस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाको मुख्य एजेन्डामा कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबरको साधारण सेयर आईपीओमार्फत निष्कासन गर्ने र त्यसबाट संकलन हुने रकमको उपयोग सम्बन्धी प्रस्ताव रहेको छ।

प्रस्तावअनुसार जारी गरिने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइनेछ भने बाँकी १० प्रतिशत सर्वसाधारणका लागि हुनेछ। सर्वसाधारणतर्फ छुट्याइएको सेयरभित्रबाट १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत कम्पनीका कर्मचारी तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि आरक्षण गरिने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।

जस्मिन पेन्ट्सको आईपीओ हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग गर्दै गत भदौ १८ गते बोर्डमा आवेदन दिएको हो। आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया