रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो, जसमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोषका लागि र १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याई बाँडफाँड गरिसकेको छ।
आईपीओको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम रहे पनि बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्ताहरूलाई सेयर जारी गर्दा कट–अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सो कट–अफ मूल्यमा सर्वसाधारण लगानीकर्ताहरूलाई १० प्रतिशत छुट दिँदा प्रतिकित्ता सेयर मूल्य ८२०.८० रुपैयाँ तोकिएको छ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताहरूले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik









