नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि आइतबार २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोलमार्फत उक्त रकम संकलन गर्न लागेको हो। हाल बैंकिङ प्रणालीको कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता खिच्दै आएको छ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले बोल गरेको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। बोलकबोल आइतबार अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिनेछ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साल पुस २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिनाको अवधिसम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाका आधारमा राष्ट्र बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया