बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ सुरु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा न्युज फेस्टिभल सुरु गरिएको हो।

महोत्सवमा छिमेकी मुलुक भारतबाट ४० जनासहित दुई सयभन्दा बढी पत्रकारको सहभागिता रहेको छ। फेस्टिभल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको पर्यटकीय सम्भावना, सांस्कृतिक तथा धार्मिक सम्बन्ध विस्तारमा यस्ता फेस्टिभलले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

दुवै देशका मिडियाले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह-अस्तित्वलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्र्याएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।न्युज फेस्टिभलअन्तर्गत ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’, ‘लुम्बिनी : लगानी र पर्यटनको सामर्थ्य’ र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुने कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले पत्रकारितामाथि उठेका विभिन्न प्रश्नलाई सम्बोधन गर्दै जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया