नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राखिनेछ। उक्त रकम २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि लगानी गरिनेछ र ब्याज त्रैमासिक रूपमा भुक्तानी गरिनेछ।
राष्ट्र बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ४ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ८३ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो।
मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको तथा सीडी रेसियो राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्नेछ। राष्ट्र बैंकले उक्त निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई सिलबन्दी फाराम भरी पुस १७ गते राति ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ।

Online Arthik









