नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस– पीएमएस) प्रदान गर्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गतको एसेट अन्डर म्यानेजमेन्ट (एयूएम) १ अर्ब रुपैयाँ नाघेको छ। कम्पनीका अनुसार यस उपलब्धिले सिद्धार्थ क्यापिटलप्रति लगानीकर्ताहरूको बढ्दो विश्वास र संस्थाको सुदृढ व्यवस्थापन क्षमतालाई पुष्टि गरेको छ।

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले यो उपलब्धि संस्थाका लागि मात्र नभई सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकाय तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगको परिणाम भएको बताए। उनले कम्पनी दीर्घकालीन, सुरक्षित तथा जिम्मेवार लगानीमार्फत लगानीकर्तालाई दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

सिद्धार्थ क्यापिटलले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन, सामूहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्शलगायतका सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार पारदर्शिता, प्रभावकारी जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना संस्थाको प्रमुख प्राथमिकतामा पर्दछ।

आगामी दिनमा सिद्धार्थ क्यापिटलले नवीन लगानी उपकरणको विस्तार, प्रविधिमा आधारित सेवा सुदृढीकरण तथा लगानीकर्ताको अनुभव अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। यस ऐतिहासिक उपलब्धिमा कम्पनीले ग्राहक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया