आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा जिल्लामा कुल दुई लाख ४८ हजार ८१६ मतदाता कायम भएका छन् । २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले उक्त निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ तथा अन्य एक जना रहेका छन् । यसअनुसार पुरुषको तुलनामा महिला मतदाता तीन हजार ८८७ जना बढी रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । गत निर्वाचनको तुलनामा क्षेत्र नम्बर १ मा तीन हजार ४७५ र क्षेत्र नम्बर २ मा एक हजार २५२ मतदाता थपिएका हुन् ।
यसरी २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रहेका दुई लाख ४४ हजार ०८९ मतदाताको तुलनामा यस वर्ष कूल चार हजार ७२७ मतदाता वृद्धि भएको कार्यालयले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा जिल्लामा १९९ मतदानस्थल कायम गरिएको छ भने मतदान केन्द्र संख्या ३२२ पुगेको छ । गत निर्वाचनमा १९९ मतदानस्थल र ३२० मतदान केन्द्र रहेकामा यसपटक दुई मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Online Arthik









