सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीले कुल स्वीकृत आईपीओमध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी सेयरका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।

यो आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको छ । सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते प्रतिकित्ता १०० रुपैयाँ दरमा १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी भइसकेको छ ।

तपाईको प्रतिक्रिया